बागमती प्रदेशको छैठौं मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त हुँदै, कांग्रेस–एमाले गठबन्धनको सरकार आजै गठन हुँदै
बागमती प्रदेश सरकारको नेतृत्व अब नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले गर्दै छन्। कांग्रेस संसदीय दलका नेता तथा प्रदेश सभापति समेत रहेका बानियाँ प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन्।
मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा स्वीकृत भएपछिको प्रक्रियाअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि मंगलबार दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए। सोही अनुसार बानियाँले सोमबार नै नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको हस्ताक्षरसहित ६४ जनाको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। बहुमतका लागि आवश्यक ५६ भन्दा बढी सांसदको समर्थन रहेका कारण बानियाँको नियुक्ति निश्चित भएको हो।
प्रदेश प्रमुखको कार्यालयले आज (मंगलबार) दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम तय गरेको छ। त्यसपछि उनी मन्त्रिपरिषद् विस्तारमा लाग्ने तयारीमा छन्।
कांग्रेसका एक सांसदका अनुसार बानियाँले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। नयाँ गठबन्धन सरकारमा कांग्रेस र एमालेको साझेदारी रहनेछ। अघिल्लाे मोडलअनुसार कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री सरकारमा सहभागी हुनेछन्।
यसैबीच, एमालेले मन्त्री चयनको अन्तिम तयारी गरिरहेको छ। एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले मन्त्रीहरुको नाम आज दिउँसो १ बजेसम्म टुंगो लाग्ने जानकारी दिएका छन्। पार्टीभित्र छलफल जारी रहेको र संसदीय दलको बैठकले निर्णय गर्ने उनले बताएका छन्।
एमालेले यसपटक अघिल्लो सरकारका मन्त्रीहरूलाई नदोहोर्याउने र प्रत्यक्ष निर्वाचित सांसदहरूलाई प्राथमिकता दिने नीति लिएको छ। पूर्वस्वास्थ्य मन्त्री किरण थापा मात्रै पुनः मन्त्री बन्ने सम्भावना देखिएको छ।
मन्त्रीको दौडमा दोलखाबाट प्रत्यक्ष निर्वाचित भरत केसीको नाम अगाडि रहेको छ। त्यस्तै ललितपुरका मधुसुदन पौडेल, काठमाडौंका जयराम थापा, र समानुपातिक सांसद बिन्दु श्रेष्ठको नाम पनि चर्चामा छ। मन्त्री आकांक्षी धेरै भएकाले अन्तिम निर्णय दिउँसो सार्वजनिक गरिने एमाले स्रोतले जनाएको छ।
बागमती प्रदेश सभामा जम्मा ११० सांसद छन्। तिनीहरूमध्ये नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।







