बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलबभत्ताबाट निर्वाचन क्षेत्रभित्रका अतिविपन्न परिवारका लागि घर निर्माण गरिदिने घोषणा गरेका छन्।
मुख्यमन्त्री नियुक्त भएसँगैको पहिलो मन्त्रिपरिषद् बैठकमा बानियाँले आफूले प्राप्त गर्ने तलबभत्ताको रकमबाट आफू निर्वाचित मकवानपुर क्षेत्र नम्बर–२ (ख) का अतिविपन्न परिवार छनौट गरी घर निर्माण गरिदिने जानकारी गराएका हुन्
त्यसैगरी, बैठकले प्रदेशभरका विपन्न र जेहेन्दार विद्यार्थीका लागि चिकित्सा क्षेत्रमा पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय पनि गरेको छ। सरकारका प्रवक्ता एवं खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङका अनुसार, २ जना मेडिकल डाक्टर, २ जना आयुर्वेद डाक्टर, २ जना भेटेरिनरी डाक्टर तथा १० जना नर्सलाई छात्रवृत्ति दिइनेछ। छात्रवृत्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयमार्फत गरिनेछ।
बैठकले दलित, चेपाङ, बोटे, जिरेल, हायु, वनकरियालगायत सीमान्तकृत समुदायका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्न उच्च प्राथमिकतामा नीति निर्माण गरी यथाशीघ्र कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ।
हालको मौसमजन्य विपद् जोखिमलाई दृष्टिगत गर्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उच्चस्तरीय एकीकृत संयन्त्र गठन गरिनेछ। संयन्त्रको नेतृत्व आन्तरिक मामिला तथा कानुन मन्त्रीले गर्नेछन् भने विभिन्न प्रशासनिक निकायका प्रमुखहरू सदस्य रहनेछन्। संयन्त्रलाई सधैं सक्रिय र तयारी अवस्थामा राखिनेछ।
बैठकले बाढी, पहिरोबाट विस्थापित भएका नागरिकका लागि अस्थायी बसोबासको व्यवस्था गर्ने, तथा क्षतिग्रस्त सडक तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ।
मुख्यमन्त्री बानियाँले जनताको न्याय, शान्ति र समृद्धिको आकांक्षा पुरा गर्न उत्तरदायी, पारदर्शी र निष्पक्ष शासन दिन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। उनले आर्थिक मितव्ययिता, सुशासन, प्रभावकारी सेवा प्रवाह तथा जनमुखी बजेट प्रणालीको सुनिश्चितता गर्दै असार २३ गते प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावलाई कार्यान्वयनमा लैजाने निर्णय लिएको जानकारी दिएका छन्।
अबको बजेट पहुँचवालाको हैन, आम जनताको आवश्यकतालाई केन्द्रमा राखी निर्माण गरिनेछ। योजना तथा कार्यक्रमले सीधै जनताको जीवनस्तरमा सुधार ल्याउने गरी तय गरिनेछ।







