हेटौंडा–कुलेखानी–काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा निर्माण भइरहेको बेलिब्रिजको कार्य अन्तिम चरणमा पुगेको छ।
सडक सञ्जाल विस्तार र वैकल्पिक यातायात मार्गका हिसाबले महत्वपूर्ण मानिएको यस पुलको निर्माण सम्पन्न भएसँगै हेटौंडा–काठमाडौं मार्गमा सवारी आवागमन थप सहज हुने भएको छ। केही दिनमै सवारीसाधन सञ्चालन सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।
बेलिब्रिजको निर्माण प्रगतिका सम्बन्धमा बिहीबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेश चन्द्र देवकोटा, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक इञ्जिनियर नविन कुमार सिंहसहितको टोलीले स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणपछि मन्त्री डा. देवकोटाले बर्षायाममा पनि सञ्चालन गर्न मिल्ने गरी उक्त सडकको दिगो व्यवस्थापनमा जोड दिन निर्देशन दिनुभयो। छोटो अवधिमा उल्लेखनीय प्रगति भएपनि पहिरोका सम्भावित जोखिम रहेका क्षेत्रहरूमा नयाँ प्रविधिबाट समाधान खोज्न छलफल सुरु गर्न निर्देशन दिइएको छ।
पुलको बाँकी कार्य चाँडो सम्पन्न गरी यथाशीघ्र सञ्चालनमा ल्याउन निर्माण पक्षलाई निर्देशन दिइएको छ। टोलीले कार्य प्रगतिप्रति सन्तोष व्यक्त गर्दै समयमै सञ्चालनका लागि समन्वयात्मक ढंगले काम गर्न आग्रह गरेको छ।







