नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा काभ्रेका प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे नियुक्त भएका छन् ।
साथै, ललितपुरका प्रदेशसभा सदस्य तथा पूर्व खेलकुद मन्त्री मिनकृष्ण महर्जनलाई दलको सदस्य सचिवको जिम्मेवारी दिइएको छ । शुक्रबार प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुवै जनालाई पदस्थापन गरेका हुन् ।
यसअघि प्रमुख सचेतक धादिङका गोविन्द लम्साल र सचिव सिन्दुपाल्चोकका कृष्ण तामाङ थिए । तामाङ हाल मुख्यमन्त्री बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री छन् । लम्साललाई गत साउन १४ गते निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरे पनि उनले सपथ लिन पाएनन् ।
दलको नेता नयनका लागि भएको निर्वाचनमा बानियाँसँग पराजित भएपछि लामा साउन १८ गते पदबाट राजीनामा दिएका थिए । कांग्रेस बागमतीको विधानअनुसार दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । यसअघि साउन ९ गते दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भई १३ साउनमा मतदान हुँदा बहुमतले प्रस्तावको पक्षमा मत दिएको थियो । परिणामस्वरूप लामाले दलको नेताको हैसियत गुमाएका थिए ।







