विश्व आदिवासी जनजाति दिवस २०२५ को अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ।
उक्त शुभकामना सन्देशमा मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा रहेका विविध जातीय, सांस्कृतिक र भाषिक पहिचानको संरक्षण, सम्मान र संवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। उनले आदिवासी जनजातिहरूको योगदानले प्रदेशको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै अधिकारको रक्षा, भविष्यको निर्माण र परम्परागत ज्ञान प्रणालीको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
उहाँले तामाङ, नेवार, गुरुङ, मगर, थामी, घले, थकाली, भोटे, मार्फा, सुनुवार, चेपाङलगायत समुदायको सांस्कृतिक सम्पदा बागमती प्रदेशको गौरव भएको जनाउँदै, सरकारले मातृभाषा संरक्षण तथा ऐतिहासिक पहिचान जोगाउन विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभएको छ ।

मुख्यमन्त्री बानियाँले सबै समुदायबीच सहिष्णुता, सहभागिता र सम्मानको भावना बढाउँदै न्यायपूर्ण समाज निर्माणमा योगदान गर्न सबैलाई आह्वान समेत गर्नुभएको छ ।







