हेटौँडा/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नवनिर्मित नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा बसेको पहिलो बैठकले तीनवटा प्रमुख निर्णय गरेको छ।
बैठकले दलको रिक्त मुख्य सचेतकमा काभ्रे निर्वाचन क्षेत्र नम्बर २(२) बाट निर्वाचित सांसद तथा कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादेलाई नियुक्त गरेको छ। दलको विधानको दफा ११ को उपदफा १ बमोजिम मुख्यमन्त्री बानियाँले बादेलाई जिम्मेवारी प्रदान गरेका हुन्।
त्यस्तै, दलको विधानको दफा १० को उपदफा ८ अनुसार सदस्यसचिवमा ललितपुर निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित सांसद तथा प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई नियुक्त गरिएको छ।
बैठकले प्रवक्ताका रूपमा निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई तोकेको छ।
साउन ९ गते तत्कालीन दल नेता लामामाथि अविश्वास प्रस्ताव दर्ता तथा पारित र दल नेताको निर्वाचनमा बादे र महर्जन दुवैको महत्त्वपूर्ण भूमिका रहेको बैठकमा स्मरण गरिएको थियो।
मुख्यमन्त्री बानियाँले आगामी साउन २७ गते १ बजे हुने विश्वासको मतका लागि सबै सांसदलाई समयमै उपस्थित रहन आह्वान गर्दै समर्थनमा मतदान गर्न आग्रह गरेका छन्।







