बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलले ह्विप जारी गरेको छ।
दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार सूचना जारी गर्दै साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्। सोही दिन दिउँसो १ बजे दलको कार्यालयमा संसदीय दलको बैठक बस्ने भएकाले सबै सांसदलाई समयमै उपस्थित हुन सूचनामा उल्लेख गरिएको छ।
प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली, २०७४ को नियम १४३(१) अनुसार विश्वासको मत सम्बन्धी कार्यसूची रहेको छ।
यसअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले पनि आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई छलफलमा सहभागी हुन र विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ।
कांग्रेसका प्रदेश सभापति समेत रहेका मुख्यमन्त्री बानियाँले आफ्नै दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी ६४ सांसदको समर्थनमा सरकार गठन गरेका हुन्। ११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत पाउन ५६ मत आवश्यक छ।








