विश्वासको मतको समय नजिकिँदै गर्दा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ कठिन परिस्थितिमा परेका छन्। २० साउनमा बहादुरसिंह लामा नेतृत्वको सरकार विस्थापित गर्दै मुख्यमन्त्री बनेका बानियाँले आज (मंगलबार) अपराह्न ४ बजे प्रदेश सभाको नयाँ भवनमा विश्वासको मत लिने कार्यसूची तय भएको छ।
तर, नेपाली कांग्रेसभित्रको विवादका कारण पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा, कुन्दन काफ्ले र तीर्थ लामासहितका १४ जना सांसद काठमाडौंमै बसिरहेका छन्। उनीहरूले तीन पटकसम्म कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेका छन्।
नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले भने बैठक तोकिएको समयमै हुने र सार्ने कुनै निर्णय नभएको स्पष्ट पारे।
यता मुख्यमन्त्री बानियाँले, “दलीय व्यवस्थामा ह्वीप जारी भएपछि साथीहरूले विश्वासको मतको पक्षमा मतदान गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। म कुनै द्विविधामा छैन,” भनेका छन्।







