काठमाडौँ/ राष्ट्रिय युवा संघ नेपाल (NYFN) ले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने उद्देश्यसहित ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ। भदौ १ गते (अगस्ट १७) साँझ ५ बजेदेखि ९ बजेसम्म भर्चुअल माध्यमबाट हुने सम्मेलनमा १ करोडभन्दा बढी नेपाली युवाको सहभागिता हुने अपेक्षा गरिएको छ।
‘Connecting Nepali Youths Globally’ नारासहितको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुबा गुरुङ, डिजिटल पूर्वाधार विज्ञ डा. सुदन झा र साइबर सुरक्षाविद् प्रो. मोशे वाय. वार्डी (Rice University) लगायतका वक्ताहरूको सहभागिता रहनेछ।
कार्यक्रममा नेपालको डिजिटल नीति, सूचना प्रविधिको सम्भावना र चुनौती, अन्तर्राष्ट्रिय अनुभव, रोजगारी तथा उद्यमशीलताको अवसरबारे छलफल हुनेछ। साथै, नवप्रवर्तन र प्रविधिमा आधारित विश्वभरका नेपाली युवाको सफलताका कथाहरू पनि प्रस्तुत गरिनेछन्।
सम्मेलनमा अनलाइन दर्ता निःशुल्क हुने र नेपाली तथा अंग्रेजीमा प्रत्यक्ष अनुवाद सुविधा उपलब्ध हुने आयोजकले जनाएको छ। सम्पूर्ण कार्यक्रम Zoom, Facebook Live र YouTube Live मार्फत प्रत्यक्ष प्रशारण हुनेछ। सहभागी सबैलाई ई-प्रमाणपत्र प्रदान गरिनेछ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले यो सम्मेलन डिजिटल नेपालको भविष्य निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार, “यो केवल भर्चुअल कार्यक्रम मात्र होइन, विश्वव्यापी युवाको साझा आन्दोलन हो, जसले नेपालको डिजिटल भविष्यलाई युवा नेतृत्व र सहकार्यमार्फत अगाडि बढाउनेछ।”

यो लिङ्क प्रयोग गरेर कार्यक्रममा सहभागि हुन सकिनेछ।




