निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुर र नगर प्याब्सन हेटौँडाले शिक्षा विधेयक २०८० का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै बिहीबार हेटौँडा उपमहानगरपालिकामा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्।
प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी र नगर प्याब्सन हेटौँडाका अध्यक्ष रामकुमार श्रेष्ठ नेतृत्वको टोलीले उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँलाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको हो। सुवेदीका अनुसार, केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार देशभरका पालिकामा ज्ञापनपत्र बुझाउने अभियानअन्तर्गत हेटौँडामा पनि यो पहल गरिएको हो।

उक्त विधेयकमा समावेश निजी विद्यालयलाई क्रमशः गैर–नाफामूलक बनाउने व्यवस्था हटाउन, “पूर्ण छात्रवृत्ति” भन्ने शब्दावली संशोधन गर्न, हाल प्रचलनमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिन र छात्रवृत्तिमा भर्ना, वार्षिक तथा मासिक शुल्क मात्र समावेश गर्नुपर्ने माग ज्ञापनपत्रमा राखिएको छ।
साउन २२ गते शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विधेयकका यी प्रावधानलाई प्याब्सनले अव्यावहारिक, लगानी प्रतिकूल र पूर्वाग्रही भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरेको छ।
यसैबीच, थाहा नगर प्याब्सनले पनि सोही विषयमा थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ललाई ज्ञापनपत्र बुझाएको छ। प्याब्सन मकवानपुरले भोलि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरमा पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ।








