हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिकाले भोलि (भदौ ४ गते) बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको स्वागत गर्दै तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। कार्यक्रम गाउँपालिकाको लामिटार सभाहल प्राङ्गणमा आयोजना हुनेछ।
मनहरी गाउँपालिकासमेत पर्ने मकवानपुर क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ मुख्यमन्त्री नियुक्त भएपछि पहिलोपटक आफ्नै क्षेत्रमा औपचारिक स्वागत कार्यक्रममा सहभागी हुन लागेका हुन्।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीका अनुसार मुख्यमन्त्रीको स्वागतसँगै महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। हरेक वर्षझैँ यस वर्ष पनि शुभकामना आदानप्रदानसहित तीज विशेष कार्यक्रमको आयोजना गरिएको उनले बताए।
कार्यक्रममा गाउँपालिका क्षेत्रका संघसंस्था, सहकारी, टोल विकास समिति, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि तथा राजनीतिक दलका महिला समितिका प्रतिनिधिलाई सहभागी हुन आह्वान गरिएको छ। मनहरीको आस्था कला केन्द्रका कलाकारहरूले तीज गीतमा मौलिक नृत्यसहित अन्य सांस्कृतिक प्रस्तुति दिने जनाइएको छ।
तीज विशेष कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरू, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहने गाउँपालिकाले जानकारी दिएको छ।