बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताले दिएको विश्वास र मतको सम्मान गर्दै जनमुखी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रदेशको मुख्यमन्त्री बनेपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र मकवानपुर–२ (ख) मा आयोजित औपचारिक कार्यक्रममा सहभागी हुँदै उनले गरिबमुखी, आयमुखी, न्यायमुखी तथा समग्र विकासमुखी कार्यक्रममार्फत प्रदेशलाई अघि बढाउने अठोट दोहोर्याए।
मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले मनहरीका जनताले गरेको योगदानकै कारण आफू मुख्यमन्त्री बन्न सफल भएको बताए। उनले भने, “मत दिनुहुने सबै जनताको भावना र अपेक्षालाई मध्यनजर गर्दै निष्पक्ष ढंगले जिम्मेवारी पूरा गर्नेछु। यो वा त्यो पार्टी नभनी सबैका आवश्यकतालाई प्राथमिकता दिई विकास गर्नु मेरो कर्तव्य हो।”
उनले लामिटार–चकरी–मकरी सडकलाई विशेष प्राथमिकतामा राखी छिट्टै कालोपत्रे गर्ने आश्वासन दिए। साथै, पुल, सडक तथा अन्य पूर्वाधार विकासमा समेत ध्यान दिने विश्वास दिलाए। हरितालिका तीजलाई सभ्य, भव्य र सुसंस्कृत ढंगले मनाउन उनले सुझावसमेत दिए।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा मनहरी गाउँपालिकाले आफ्नै क्षेत्रबाट निर्वाचित सांसद बानियाँ मुख्यमन्त्री बनेकोमा बधाई ज्ञापन गर्दै सम्मानपत्रसमेत प्रदान गर्यो।
सो अवसरमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाली काँग्रेसकी प्रतिनिधि कमला मैनालीलगायतले मन्तव्य राखेका थिए।
मुख्यमन्त्री बानियाँले बुधबार नै मनहरीस्थित आफ्नै सम्पर्क कार्यालय पुगेर आम नागरिकका समस्या र गुनासा सुन्ने कार्यसमेत गरेका थिए।







