हेटौंडा/ बागमती प्रदेशका चार स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणा गर्ने तयारी भइरहेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडाले शुक्रबार सरोकारवाला निकायसँग छलफल गर्दै बागमती गाउँपालिका, बकैया गाउँपालिका (मकवानपुर) र हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका (सिन्धुली) लाई खोरेतमुक्त बनाउन पहल सुरु गरेको हो ।

नेपाल–चीनबीच भएको सहमति अनुसार राँगा–भैँसीको मासु निर्यात गर्न तीन वर्षभित्र यी पालिकालाई खोरेतमुक्त क्षेत्र बनाइने लक्ष्य लिइएको छ । पहिलो चरणमा हेटौंडामा आयोजित छलफलमा प्रदेशका ४ पालिकाका जनप्रतिनिधि, संघीय तथा प्रादेशिक मन्त्रालयका अधिकारी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख तथा सरोकारवाला निकायको सहभागिता थियो ।
निर्देशनालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने कार्यक्रमबारे जानकारी दिँदै पशु पहिचान तथा दर्ता, स्थलगत तालिम, प्राविधिक सर्वेक्षण, खोप अभियान लगायतका कार्य गरिने बताए । उनले पाडापाडी पालनलाई प्रोत्साहन गर्दै कम्तीमा पनि ५ सयभन्दा बढी संख्यामा वृद्धि गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।
कार्यक्रममा सह–सचिव डा. सम्झना कुमारी काफ्लेले नेपाल–चीनबीच भएको मासु निर्यातसम्बन्धी प्रोटोकलबारे कार्यपत्र प्रस्तुत गरिन् । उनका अनुसार चीनले निर्यात हुने मासु गुणस्तरीय, सुरक्षित र संक्रमणमुक्त हुनुपर्ने शर्त राखेको छ । मासु तीन वर्षभन्दा कम उमेरका राँगा–भैँसीबाट उत्पादन हुनुपर्ने, स्वीकृत वधशालामा प्रशोधन र प्याकेजिङ गर्नुपर्ने चीनको माग रहेको उनले बताइन् ।
त्यस्तै, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले कार्ययोजना प्रस्तुत गरे भने पशु रोग अन्वेषण प्रयोगशाला प्रमुख डा. कृष्णराज पाण्डेले खोरेत रोगका चुनौती र रोगमुक्त क्षेत्र बनाउन आवश्यक प्राविधिक पक्षबारे जानकारी गराए ।
निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठका अनुसार खोरेतमुक्त अभियानलाई सफल बनाउन सचेतनामूलक कार्यक्रमदेखि नियमित खोप अभियान सञ्चालन गरिनेछ । हरेक ६ महिनामा खोरेतविरुद्ध खोप लगाइने योजना रहेको उनले बताए ।
निर्देशनालयको तथ्यांकअनुसार चार पालिकामा हाल २ लाख ७७ हजार ३२१ पशु छन्, जसमा राँगा–भैँसी मात्रै ३० हजार ८२६ छन् । राँगा–भैँसी पालनका लागि उपयुक्त यी क्षेत्रलाई मासु उत्पादन जोन बनाएर चीनमा निर्यात गर्ने सरकारले तयारी गरेको हो ।







