हेटौंडा/बागमती प्रदेश सरकारले पहिलो चरणमा ९ वटा स्थानीय तहमा कृषि उपज बजार केन्द्र स्थापना गर्ने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पालिकाको साझेदारीमा सूचना प्रविधिमा आधारित कृषि उपज बजार केन्द्र निर्माण गर्न लागेको हो।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा दोलखाको भीमेश्वर नगरपालिका, सिन्धुलीको गोलन्जोर गाउँपालिका, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र चितवनको माडी नगरपालिकामा केन्द्र स्थापना गरिनेछ। यसैगरी धादिङको थाक्रे गाउँपालिका, ललितपुरको बागमती गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, काठमाडौंको नागार्जुन नगरपालिका र शंखरापुर नगरपालिकामा पनि केन्द्र स्थापना हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार प्रत्येक बजार केन्द्रमा सूचना प्रविधिमा आधारित प्रणाली, एक चिस्यान केन्द्र, विषादी अवशेष परीक्षण प्रयोगशाला र कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स अनिवार्य रहनेछ।
नौ पालिकामा केन्द्र स्थापना गर्न चालु आवमा ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। यसमा स्थानीय तहको ३० प्रतिशत लागत र बाँकी रकम प्रदेश सरकारको सशर्त अनुदानमार्फत उपलब्ध गराइनेछ।
मन्त्रालयले हाल कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको छ। यस कार्यक्रममार्फत कृषकलाई उत्पादनको बजार सुनिश्चित गर्न मद्दत पुग्ने र कृषि उपजको बजारीकरण समस्याको समाधान हुने अपेक्षा गरिएको छ।