नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा भाद्र २४ गते हेटौंडा आउने भएका छन्।
११२ औं वीपी जयन्तीको अवसरमा कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं.–१ ‘ख’ ले आयोजना गर्ने भेलालाई सम्बोधन गर्न थापा हेटौंडा आउन लागेका हुन्। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो।
प्रदेशसभा क्षेत्र नं.–१ ‘ख’ का सभापति राजेश बानियाँका अनुसार महामन्त्री थापासँगै कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रममा जिल्लाभरिबाट करिब दुई हजार कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
त्यसैगरी कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कार्यक्रम नीतिगत नभई सन्देशमूलक हुने बताए। उनका अनुसार थापाले समसामयिक परिस्थिति, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र आसन्न भारत भ्रमणबारे धारणा राख्नेछन् भने कोषाध्यक्ष श्रेष्ठले कृषि क्षेत्रका चुनौती र सम्भावनाबारे विचार प्रस्तुत गर्नेछन्।
भेलामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित मन्त्रीहरूको पनि उपस्थिति रहने जनाइएको छ। पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईं लगायतको उपस्थिति रहेको थियो।