हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्व २०८२ का अवसरमा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री बानियाले बिहीबार जारी सन्देशमार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण चेपाङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलकामना व्यक्त गरेका हुन्।
उनले नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषताले भरिपूर्ण समाजलाई विविधतामा एकता र सामाजिक सद्भावले परिपूर्ण रहेको उल्लेख गरेका छन्। चेपाङ समुदायले मनाउने न्वागी पर्वलाई सांस्कृतिक पहिचान मात्र नभई सामाजिक एकता, सहकार्य र समृद्धिको प्रतीकका रूपमा लिइनुपर्ने उनले बताए।
मुख्यमन्त्री बानियाले बागमती प्रदेश सरकारले चेपाङ समुदायको सांस्कृतिक संरक्षण, पहिचान र समृद्धिको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको यो पर्वले राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।