हेटौडा/भ्रष्टाचारविरुद्ध जारी ‘जेन–जी’ आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा हालसम्म १९ जनाको ज्यान गएको छ भने ३४७ जना घाइते भएका छन्।
काठमाडौंको बानेश्वर क्षेत्रमा केन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा आन्दोलनकारीको ज्यान गएको हो। त्यसमध्ये, ट्रमा सेन्टरमा ८ जना, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसी अस्पतालमा २ जनाको मृत्यु पुष्टि भएको छ। त्यस्तै, इटहरीमा पनि प्रहरीले गोली चलाउँदा थप २ जनाको मृत्यु भएको छ।
विभिन्न अस्पतालहरूमा हाल घाइतेहरूको उपचार भइरहेको छ। सिभिल अस्पतालमा १००, एभरेस्ट अस्पतालमा १०२, ट्रमा सेन्टरमा ५९, केएमसीमा ३७, वीर अस्पतालमा ६, पाटन अस्पतालमा ४, त्रिवि शिक्षण अस्पतालमा १८, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।
एभरेस्ट अस्पतालका प्रवक्ता अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थामा छन्। ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेका अनुसार ट्रमामा १० जना गम्भीर घाइते छन्, जसको टाउको र छातीमा गोली लागेको छ।
प्रदर्शन नियन्त्रण गर्न प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो। काठमाडौंसहित देशका प्रमुख सहरहरूमा भ्रष्टाचारविरुद्धको यो प्रदर्शन तीव्र रूपमा फैलिएको छ।