हेटौंडा/हेटौंडा–११ स्थित बालसुधार केन्द्रबाट एकैचोटि ७२ जना बालविदे (अपराधमा संलग्न बालकहरू) भागेका छन्। हालसम्म मात्र २२ जना बालकहरू सुधार गृहमै रहेको जानकारी प्राप्त भएको छ।
बालसुधार गृह मकवानपुरका कार्यालय प्रमुख प्रदीप गौतमका अनुसार, बुधबार दिउँसो करिब ३:२० बजे बालसुधार गृहको संरचना तोडेर उनीहरू फरार भएका हुन्। घटनापछि सुरक्षा निकायहरू, प्रहरी टोली तथा सरोकारवाला निकायहरू सक्रिय भएका छन् र फरार बालकहरूको खोजी कार्य तीव्र पारिएको छ।
गौतमले बताएअनुसार, घटना भएको समयमा सुधार गृहमा ९४ जना बालकहरू रहेका थिए। हालसम्म २२ जना मात्र सुधार गृहमै छन् भने ७२ जना अझै पनि फरार छन्। भागेकाहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ र छिमेकी जिल्लाहरूमा समेत निगरानी बढाइएको छ।
सुधार गृहको सुरक्षा व्यवस्था कमजोर रहेको आशंका गरिएको छ। घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
स्थानीयवासीहरूले यस्तो संवेदनशील संरचनामा यति ठूलो संख्यामा बालकहरू भाग्नु अत्यन्तै चिन्ताजनक भएको भन्दै सरकारसँग तत्काल छानबिन र सुधारको माग गरेका छन्।