मकवानपुरको कैलाश गाउँपालिकाका पाँच विद्यालयलाई फुटबल खेलका सामाग्री हस्तान्तरण गरिएको छ । चाइल्ड रिच नेपालको सहयोगमा प्रदान गरिएको उक्त सामाग्री मंगलबार वडा नम्बर ३ स्थित भवानी माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सहायक कार्यक्रम संयोजक पुजा रानामगरले विद्यालय स्तरमै खेलाडी उत्पादन गर्ने उद्देश्यले सामाग्री वितरण गरिएको जानकारी दिइन् । उनका अनुसार भवानी माध्यामिक विद्यालयसँगै व्यास माध्यामिक विद्यालय (वडा ६), कमलादेवी माध्यामिक विद्यालय (वडा २), रत्नज्योति मावि (वडा १०) र कालिका मावि (वडा ९) लाई सामाग्री हस्तान्तरण गरिएको हो ।
पाँचै विद्यालयलाई ३० थान ट्रेनिङ विप्स, ६० वटा ग्राउण्ड मार्कर, २५ थान कोन, ६ वटा फुटबल र ३० थान जर्सी वितरण गरिएको रानामगरले बताइन् । “विद्यालयबाटै खेलकुदको विकास होस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौं,” उनले भनिन् ।
कार्यक्रममा अध्यक्ष मुक्तानले सामाग्रीको सदुपयोग गर्दै भावी खेलाडी उत्पादनमा जोड दिन विद्यालयलाई आग्रह गरे । साथै, उनले संस्थालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्लसहित शिक्षक तथा स्थानीयको उपस्थिति रहेको थियो ।