भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा भएको आगजनीले भवन पूर्णरुपमा क्षतिग्रस्त बनेपछि रोकिएको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कामकाज फेरि सुरु भएको छ।
मन्त्रालयले अस्थायी रुपमा हेटौंडा–१ मा रहेको कृषि विकास निर्देशनालयको भवनबाट काम अघि बढाएको मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले बताए।
मन्त्रालयका मन्त्री मधुसूदन पौडेलले कर्मचारीलाई मनोबल उच्च राखी सेवा दिन हौसला प्रदान गर्दै, “जेन–जीको नाममा अराजक समूहले सरकारी तथा निजी संरचनामा गरेको नोक्सानी दुःखद छ” भन्ने प्रतिक्रिया दिएका छन्।
भदौ २४ गतेको आन्दोलनमा चौकीटोलस्थित मन्त्रालय भवनमा आगजनी भएपछि सम्पूर्ण काम ठप्प भएको थियो। हाल प्राविधिक निरीक्षणपछि मात्र स्थायी व्यवस्थाबारे निर्णय हुने मन्त्रालयले जनाएको छ।
त्यस्तै, भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।