हेटौँडा/नेपाली कांग्रेस बागमती प्रदेश समितिले हालको अविरल वर्षाका कारण उत्पन्न विपद्का जोखिमलाई ध्यानमा राख्दै आफ्ना पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय भूमिकामा रहन आग्रह गरेको छ।
प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सबै पार्टी कार्यकर्तालाई एकताबद्ध भएर बाढी, पहिरो र डुबान प्रभावित नागरिकको सहयोगमा खटिन अनुरोध गर्नुभएको छ।
असोज १८ गते शनिवार बिहानदेखि देशका अधिकांश भूभागमा परिरहेको अविरल वर्षाले बागमती प्रदेशका पहाडी जिल्लामा पहिरो र नदीहरूको बहाव तीव्र बनेको छ। यसका कारण तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा परेका छन्।
मौसम विज्ञान विभाग र विज्ञहरूको पूर्वानुमानअनुसार आगामी तीन दिनसम्म वर्षा निरन्तर रहने सम्भावना भएकाले ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिइएको छ।
यस्तो परिस्थितिमा प्रदेश समितिले आफ्ना पदाधिकारी तथा सदस्यहरूलाई आ–आफ्नो क्षेत्रका कार्यकर्तासहित पूर्वतयारीमा जुट्न, प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्यमा संलग्न तीनै तहका सरकारी संयन्त्रसँग समन्वय गर्न र जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउन निर्देशन दिएको छ।







