क्षेत्र नम्बर २ का निबर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता महेश कुमार बर्तौलाले वर्तमान सरकारले निर्वाचन गराउने कुनै इच्छा नराखेको आरोप लगाएका छन्।
उनले जनवादको कार्यनीतिलाई आत्मसात् गरेको लोकतान्त्रिक पार्टी नेकपा (एमाले) सधैं जनताद्वारा परिक्षित हुने मार्गमा अघि बढ्ने बताएका छन्। बर्तौलाले भने, “नेकपा (एमाले) निर्वाचनमार्फत जनताद्वारा परिक्षित हुन तयार पार्टी हो। हामी कहिल्यै निर्वाचनबाट पिठ्युँ फर्काएर भाग्दैनौं।” बतौलाका अनुसार आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउने कार्यादेशसहित बनेको वर्तमान सरकार असंवैधानिक ढङ्गले गठन भएको हो। उनले भने, “सरकारको प्रारम्भदेखि नै देखिएको व्यवहार र गतिविधिहरूले स्पष्ट गर्छ — यस सरकारलाई निर्वाचन गराउने कुनै चाहना छैन।”
उनले आरोप लगाए कि सरकारले निर्वाचनको वातावरण सिर्जना गर्ने सट्टा मुलुकमा डर, भय, त्रास र आतङ्क फैलाएर सत्तामा टिकिरहने रणनीति अपनाएको छ। “राजनीतिक दलहरूसँग संवाद र छलफलको सट्टा निषेधात्मक कार्यशैलीमा सरकार अघि बढिरहेको छ,” उनले भने, “यदि घोषित मितिमा निर्वाचन नभई संसद पनि नबन्ने हो भने देश गम्भीर संकटमा पर्नेछ।”
बर्तौलाले वर्तमान संकट समाधानका लागि ठोस राजनीतिक पहल आवश्यक रहेको बताउँदै बिघटित संसदको पुनर्स्थापना, सर्वदलीय राष्ट्रिय सरकार गठन, संविधान संशोधनका विषयमा सहमति निर्माण र शीघ्र निर्वाचनको तयारीलाई मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिए।
उनले मुलुकलाई अस्थिरता र अन्योलताबाट बचाउनका लागि सबै लोकतान्त्रिक, देशभक्त र राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए। “यो व्यवस्थालाई स्वीकार गर्ने सबै नागरिक र दलहरू अहिले एक ठाउँमा उभिनु जरुरी छ,” उनले भने, “त्यसैले मात्रै देशलाई स्थायित्व, स्थिरता र दिगो शान्तितर्फ लैजान सकिन्छ।”


