गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मकवानपुर जिल्लामा २१ सरकारी कार्यालयमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सोही अवधिमा जिल्लाभरका १ सय ३४ वटा सवारी साधन जलाएर नष्ट गरिएको तथ्यांकमा उल्लेख छ।
प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा १३ वटा सङ्घीय कार्यालय, ८ वटा प्रदेश सरकारअन्तर्गतका जिल्ला कार्यालय र २ वटा सार्वजनिक संस्थानमा तोडफोड तथा आगजनी भएका छन्। सङ्घीय कार्यालयका भवनमा मात्र ४ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। त्यस्तै, प्रदेशका ६ कार्यालयमा २ करोड ७२ लाख २७ हजार रुपैयाँ र दुई सार्वजनिक संस्थानमा ४ करोड ७३ लाख ९ हजार रुपैयाँ बराबरको नोक्सानी भएको विवरणमा उल्लेख गरिएको छ।
जिल्लामा रहेका १८ सङ्घीय, ६ प्रदेश र १ सार्वजनिक संस्थानका गरी २५ कार्यालयका १ सय ३४ वटा सवारी साधन जलाइएका छन्। ती सवारी साधनमा ४ करोड ८३ लाख ८४ हजार रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्लाका ५ वटा सरकारी भवनमा सामान्य, १४ वटा आंशिक र २ वटा भवनमा पूर्ण क्षति पुगेको जनाइएको छ। समग्रमा मकवानपुर जिल्लाका सरकारी भवन र सवारी साधनमा गरी करिब १२ करोड ४२ लाख ४५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाउँछ।








