हेटौडा/नेपाली कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले पार्टीभित्र देखिएको नेतृत्वगत असंगतिबाट असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफूलाई बागमती प्रदेशको मुख्यमन्त्रीबाट हटाउँदा २४ घण्टा पनि नलाग्ने नेताहरूले अहिले भने महाधिवेशन मंसिरमा गर्न नसकिने बताउँदा अचम्म लागेको टिप्पणी गरेका छन्।
लामाले चेतावनी दिँदै भने, “यदि मंसिरभित्रै नियमित महाधिवेशन नगर्ने हो भने कांग्रेसको टिकट लिने उम्मेदवार नै हुँदैनन्। मंसिर कटाएर ल्याइने तालिका नियमित महाधिवेशनको हुँदैन, त्यो अनियमित हुन्छ।”
उनका अनुसार अहिले नेताहरू टिकट वितरणमा आफ्नो हात रहोस् भन्ने उद्देश्यले महाधिवेशनका विषयमा राजनीतिक खेल खेलिरहेका छन्।
“हिजो बाजे–बाले भनेका कुरा छोराछोरीले मान्थे, अहिले त उल्टो भइसक्यो—छोराछोरीले भनेको कुरा बाउबाजेले मान्ने अवस्था छ,” लामाले व्यङ्ग्य गर्दै भने।
लामाले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावको समर्थन गर्दै विशेष महाधिवेशनको मागसहित निवेदन दिएका ५४ प्रतिशत प्रतिनिधिलाई नहेप्न पार्टी नेतृत्वलाई आग्रह समेत गरे।








