हेटौडा/पशु सेवा कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति सार्वजनिक गरेको छ। सोमबार (कार्तिक १३ गते) कार्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख डा. व्रज किशोर ठाकुरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
डा. ठाकुरले विगत एक आर्थिक वर्षमा कार्यालयले गरेका प्रमुख काम, उपलब्धि र आर्थिक अवस्थाबारे जानकारी दिँदै कुल ३ लाख ३ हजार २४५ रूपैयाँ राजस्व संकलन भएको जानकारी दिए।
उनका अनुसार, उक्त राजस्वमध्ये प्रशासनिक सेवा शुल्कबाट १ लाख ८४ हजार ६८५ रूपैयाँ, दण्ड–जरिवाना तथा जफतबाट १ लाख ८ सय रूपैयाँ, र बेरुजु असुलीबाट १७ हजार ७६० रूपैयाँ संकलन भएको हो।
कार्यालय प्रमुख ठाकुरले गाई–गोरु तस्करी नियन्त्रणमा कार्यालयले सशक्त रूपमा काम गरिरहेको बताउँदै हालसम्म ४ जना तस्करलाई पक्राउ गरी मुद्दा दायर गरिएको जानकारी दिए।
उनका अनुसार, उच्च ओहोदाका व्यक्तिहरूसमेत तस्करी तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न देखिएकाले “अब ठूला राजनीतिक दल र समाजका अग्रज व्यक्तिहरूबीच हातेमालो गरेरै भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ,” भन्दै उनले काखी–पाखी प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए।
सन् २०३७ सालमा बाख्रा विकास कार्यालयका रूपमा स्थापना भएको यो कार्यालयले २०७५ साल असोज १४ गतेदेखि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका रूपमा कार्य गर्दै आएको थियो। २०८० साल माघ २७ गतेबाट यसले हालको नाम “पशु सेवा कार्यालय, मकवानपुर” बाट सेवा दिइरहेको छ।
कार्यक्रममा कार्यालयका अधिकारी, कर्मचारी र सरोकारवालाको सहभागिता रहेको थियो।








