भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानबीच मन्त्रालयमा भएको भेटवार्तामा गाउँपालिकाभित्र सञ्चालनमा रहेका अधुरा विकास निर्माण परियोजनाहरूको प्रगति र समस्या बारे विस्तृत छलफल गरिएको छ।
भेटका क्रममा अध्यक्ष घलानले विशेषगरी बागमती गाउँपालिका–१ र २ लाई जोड्ने महत्वपूर्ण हात्तिढुङ्गा–चिरुवाखोला पक्की पुल निर्माण कार्य अझै अधुरो रहेको र राइगाउँ–क्यान्टिन सडक निर्माण पनि सम्पन्न नभइसकेको विषयमा ध्यानाकर्षण गराएका थिए। उनले यी संरचनाहरू पूरा भएमा स्थानीयवासीको दैनिक आवतजावत, कृषि उत्पादनको बजार पहुँच र आपतकालीन सेवामा सहजता पुग्ने भन्दै छिटो अघि बढाउन आग्रह गरे।
मन्त्री घिसिङले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया शीघ्र अघि बढाइने आश्वासन दिएका छन्। उनले चिरुवाखोला पुल निर्माणका लागि बजेट व्यवस्थापन विपद् व्यवस्थापन कोष मार्फत अघि बढिसकेको र फाइल प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी पनि अध्यक्ष घलानलाई दिएका छन्।
बैठकमा गाउँपालिकाभित्रका अन्य विकास आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर सहकार्य र समन्वय जारी राख्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेको उल्लेख गरिएको छ।




