बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले धुलोदूध कारखानाको निरीक्षण गर्नुभएको छ। बिहीवार उहाँले करिब ४७ करोड रुपैयाँको लागतमा निर्माण भएको तर कार्यविधि अभावमा अझै परीक्षण उत्पादनमै सीमित रहेको उक्त कारखानाको अवस्था बुझ्न स्थल निरीक्षण गर्नुभएको हो।
सन् २०८० सालमै परीक्षण उत्पादन सुरु भए पनि कारखानाको स्थायी सञ्चालनका लागि आवश्यक कार्यविधि र मोडालिटी तयारीको प्रक्रिया लामो समयदेखि स्थगित हुँदै आएको छ।
निरीक्षणपछि मन्त्री पौडेलले ठूलो लगानीमा बनेको यो कारखाना परीक्षण उत्पादनमै सीमित रहनु दुर्भाग्यपूर्ण भएको बताउँदै यसको सञ्चालन मोडालिटी र कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार निरीक्षणको उद्देश्य कारखानाको भौतिक तथा प्राविधिक अवस्था बुझेर शीघ्र कार्यविधि तयार गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने सुनिश्चितता दिलाउनु रहेको हो।
मन्त्री पौडेलले कारखाना सञ्चालनमा आएपछि दूधको अत्यधिक उत्पादन हुने समयमा किसानलाई दूध पोख्नुपर्ने वा सस्तोमा बेच्नुपर्ने बाध्यता हट्ने उल्लेख गर्नुभयो। उहाँले यसले दुग्ध किसानलाई उचित मूल्यको सुनिश्चितता दिलाउँदै प्रदेशको कृषि अर्थतन्त्र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
कारखानामा जडान गरिएका उपकरण, भण्डारण क्षमता र परीक्षण उत्पादनको अवस्था अवलोकन गरेपछि मन्त्री पौडेलले कारखानालाई व्यावसायिक रूपमा सञ्चालन गर्न आवश्यक कार्यविधि छिट्टै स्वीकृत गरिने जानकारी दिनुभयो।
उक्त कारखाना स्थापना भएपछि यसको परीक्षण उत्पादनका लागि प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) लाई जिम्मा दिएको थियो।







