नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसल साइन्सेसबीच यस वर्ष पनि सहकार्य हुने भएको छ। शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा फ्रेन्चाइज टोली जनकपुर र कलेज प्रतिनिधिले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै सहकार्य निरन्तरता दिने घोषणा गरे।
सम्झौतामा क्लबका सहलगानीकर्ता महेश सिग्देल र कलेजका प्रिन्सिपल जोशीले हस्ताक्षर गर्दै क्रिकेटको विकास र शिक्षा क्षेत्रबीच अन्तरसम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। सम्झौताअनुसार कलेजले करिब २५ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने बुझिएको छ। क्लबका खेलाडीले प्रयोग गर्ने हेलमेट, क्याप तथा ह्याडसमा कलेजको लोगो समावेश गरिनेछ।
जनकपुरका कप्तान अनिल साह र ब्याटर शुभ कंसाकार यसै कलेजका विद्यार्थी भएकाले सहकार्य नवीकरणको कारण थप मजबुत भएको कलेजले जनाएको छ।
‘हामी लामो समयदेखि खेलकुदमा लगानी गर्दै आएका छौं। जनकपुर बोल्ट्ससँग फेरि सहकार्य गर्न पाउँदा निकै खुशी लागेको छ,’ प्रिन्सिपल जोशीले भने।
क्लबका सहलगानीकर्ता सिग्देलले यस वर्ष उपाधि रक्षा गर्ने लक्ष्यसहित बलियो टोली गठन गरिरहेको बताए।
यस वर्षको एनपीएल मंसिर १ गतेदेखि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। दोस्रो संस्करणलाई फ्लडलाइटमा खेलाउने तयारी भइरहेको आयोजकले जनाएका छन्।





