हेटौँडा/हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले विकासकाे आधार शिक्षा भएकाले वडाको पहिलो प्राथमिकता ‘शिक्षा’ नै रहेको बताउनुभएको छ। शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को बैठकमा उहाँले वडाले शिक्षालाई मुख्य एजेन्डाका रूपमा राखेर बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो।
अध्यक्ष सिग्देलका अनुसार बागमती प्रदेश राजधानी क्षेत्रभित्र पर्ने हेटौँडा–४ शैक्षिक दृष्टिले महत्वपूर्ण केन्द्र भएकाले शिक्षा क्षेत्रमा सुधार र विस्तारलाई विशेष ध्यान दिइएको छ।
बैठकले मंसिरदेखि बैशाखसम्मका लागि ६ महिनाको शैक्षिक कार्ययोजना तयार पारेको छ। यसअन्तर्गत शिक्षक तालिम तथा उत्प्रेरणा कार्यक्रम, बृहत् शैक्षिक तथा सांस्कृतिक मेला, वडास्तरीय खेलकुद प्रतियोगिता, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान, विद्यार्थी उद्यमशिलता कार्यक्रम तथा विद्यालयमा विनियोजित पूर्वाधार निर्माणलगायत कार्यक्रम अघि बढाइने छ।
बैठकमा हेटौँडा–४ का सामुदायिक विद्यालय—भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि— तथा नवोदय ई. बोर्डिङ स्कुल, ब्रह्मदीप एकेडेमी, सत्यम् जेभियर्स, आमसाई ई. बोर्डिङ स्कुल र रोज एकेडेमीका प्रिन्सिपल तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा बसेको बैठकले भुटनदेवी मावि प्रअ माधवप्रसाद दाहालको अनिवार्य अवकाशपछि रिक्त रहेको कोषाध्यक्ष पदमा भुटनदेवी माविका निमित्त प्रअ सूर्यप्रसाद घिमीरेलाई मनोनयन गरेको समितिका सचिव रामसागर गुरागाईंले जानकारी दिनुभयो।
वडा सदस्य गीता त्रिपाठीको विशेष उपस्थितिमा सम्पन्न बैठकले अवकाशप्राप्त दाहालले समितिमा पुर्याउनुभएको योगदानप्रति आभार व्यक्त गर्दै नवीन कोषाध्यक्ष घिमीरेलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।








