नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान नगरी महाधिवेशनको मिति तोक्न नहुने बताउनुभएको छ।
उहाँका अनुसार विवाद टुङ्ग्याएर मात्र सर्वसम्मति वा अधिकतम सहमतिमा अघि बढ्न सके पार्टी एकताबद्ध भएर अघि जान सक्नेछ। 
भक्तपुरको नगरकोटमा आज उद्घाटन भएको कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक तथा प्रदेश सभा संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र निर्वाचनअघि र पछाडिका कार्यतालिका सार्वजनिक भएसँगै नेता तथा कार्यकर्ताबीच केही अन्योलता देखिएको उल्लेख गर्नुभयो। कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउनु अहिलेको प्रमुख आवश्यकता भएको पनि उहाँले दोहोर्याउनुभयो।
त्यसैगरी, कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रदेश बैठकपछि एकताबद्ध कांग्रेस बनाउने सन्देश दिन यो बैठक महत्त्वपूर्ण रहेको बताउँदै, छिट्टै ७७ वटै जिल्लाका कांग्रेस जिल्ला सभापतिहरूको भेला भक्तपुरमै आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा संयोजक कृष्णलाल भडेलले महाधिवेशनमा जाने भन्दा अघि पार्टीभित्रका सबै प्रकारका विवाद समाधान गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। बैठकमा प्रदेश समितिका १३० सदस्य, प्रदेश सभा सदस्य ३७ जना तथा १३ जिल्लाका १३ जिल्ला सभापतिसहित कुल १८० जनाको सहभागिता रहेको थियो।







