नेकपा (एमाले)ले आज हेटौंडामा शक्ति प्रदर्शन गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित व्यापक मोटरसाइकल र्याली तथा जनसभाको आयोजना गरेको छ। मकवानपुरका दशैँ स्थानीय तहबाट हजारौँ नेता–कार्यकर्ताहरू हेटौंडा भेला भई प्रदर्शनमा सहभागी भएका थिए।

विघटित प्रतिनिधि सभा पुनःस्थापना र जेन–जेड (Gen-Z) आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको मागसहित प्रदर्शन गरिएको हो। र्यालीमा सहभागीहरू उत्तरी क्षेत्रबाट सामरी पुल, दक्षिण क्षेत्रबाट कर्रा पुल, पूर्व क्षेत्रबाट फुर्केचौर, र पश्चिम क्षेत्रबाट राप्ती पुल हुँदै हेटौंडाको मुख्य बजारमार्गमा प्रवेश गरेका थिए।
एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले ठूलो संख्यामा सहभागी र उत्साहजनक उपस्थिति पार्टीप्रतिको विश्वासको प्रतिक भएको बताएका छन्। उनले लोकतन्त्र हरण भइसकेको र संविधानसम्बन्धी प्रावधान च्यातिएको अवस्थामा Gen-Z युवालाई गलत रूपमा प्रयोग गर्ने गतिविधि बढ्दै गएकाले सबै सतर्क रहनुपर्नेमा जोड दिए।
एमालेका नेता महेश कुमार बर्तौलाले वर्तमान सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचन नै गराउन नसक्ने स्थिति आएको आरोप लगाए। Gen-Z आन्दोलनकै चपेटामा परेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको र प्रतिनिधि सभा विघटन गरिएको उल्लेख गर्दै उनले विघटित सदन अविलम्ब पुनःस्थापना हुनुपर्ने दाबी गरे। पार्टीलाई घेराबन्दी र आक्रमण भइरहेको भए पनि एमाले आफ्नो बाटोमै दृढतापूर्वक अगाडि बढ्ने उनले स्पष्ट पारे।
हुप्राचौरमा आयोजित विशाल जनसभामा प्रमुख अतिथि तथा बागमती प्रदेश पार्टी इन्चार्ज, स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा अहिलेको प्रमुख आवश्यकता भएको बताए। संविधानका प्रावधानहरू उल्लङ्घन भई ‘च्यातिएको’ जस्तो अवस्था सिर्जना भएकाले प्रतिनिधि सभा पुनःस्थापना नै समाधानको मार्ग भएको उनको तर्क थियो।
उनले देशको राष्ट्रियता र लोकतान्त्रिक मूल्य जोगाउने शक्ति जनताकै हातमा रहेको उल्लेख गर्दै सबै एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
फागुन २१ गतेका लागि प्रतिनिधि सभा चुनाव घोषणा गरिए पनि त्यसमा सहभागी नहुने UML को घोषणा फेरि दोहोरिए– पार्टीले सडक आन्दोलनमार्फत सदन पुनःस्थापित गर्न बाध्य पार्ने दृढता व्यक्त गर्यो।
यसैबीच, जनसभा तथा र्यालीमा सहभागीको संख्या हजारौँ रहेको आयोजकले जनाएको छ। मकवानपुरका सबै स्थानीय तहबाट उत्साहजनक सहभागिताले हेटौंडा आज दिनभरै एमालेमय बनेको थियो।






