नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना तथा जुनियर रेडक्रस सर्कल शारदा मावि, आमभञ्याङ्गको व्यवस्थापनमा शुक्रबारदेखि सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधि जिएस निकेतनले हात पारेको छ।
आज सम्पन्न फाइनल खेलमा जिएस निकेतनले शारदा मावि आमभञ्याङ्गलाई २०–२५, २५–२३, २५–२० र २५–१७ ले पराजित गर्दै विजेता बनेको हो।
उपाधिसँगै जिएस निकेतनले नगद रु. ५० हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाण–पत्र प्राप्त गरेको छ। दोस्रो हुने शारदा माविले नगद रु. ३० हजारसहित शिल्ड, मेडल र प्रमाण–पत्र पाएको छ। त्यस्तै सान्त्वना पुरस्कारतर्फ प्रजा जागृति मावि र सुन्दरीदेवि माविले नगद रु. १५ हजारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन्।
विजयी टोलिलाई नेपाल रेडक्रस सोसाइटी, मकवानपुरका उपमन्त्री एवं जिल्ला जुनियर युवा समितिका संयोजक शिवहरि दाहाल, जिल्ला सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, मकवानपुरगढी–५ का वडाध्यक्ष दिपेश दाहाल तथा बिब्यस अध्यक्ष युवराज सापकोटाले पुरस्कार वितरण गर्नुभयो।
प्रतियोगितामा उत्कृष्ट खेलाडी जिएसका अमित मिश्र, उत्कृष्ट कोच जिएसका ईश्वर लामिछाने, उत्कृष्ट डिफेन्डर जिएसका आयुषा सिंह, उत्कृष्ट सेटर जिएसका विनोद श्रेष्ठ र उत्कृष्ट स्पाइकर सारदाका आशिष घलान घोषित भएका छन्।
यस वर्षको प्रतियोगितामा मकवानपुर जिल्लाभरिका २४ विद्यालयको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।




