चैत्रमा सञ्चालन हुने एसईई परीक्षाका लागि गाउँपालिकाले सबै विद्यार्थीलाई खाना र आवासको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन्।
मंगलबार कालिका माध्यमिक विद्यालयमा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष मुक्तानले परीक्षा केन्द्र अन्यत्र रहने विद्यार्थीका लागि समेत गाउँपालिकाले सम्पूर्ण व्यवस्थापन गर्ने जानकारी दिए। गत वर्षदेखि कालिका मावि परीक्षा केन्द्र तोकिएसँगै विद्यार्थीलाई सहज भएको बताए।
उहाँले हेटौंडामा परीक्षा दिनुपर्ने यस विद्यालयका विद्यार्थीका लागि पनि गाउँपालिकाबाट खाना तथा बसोबासको व्यवस्था गरिने स्पष्ट पारे। साथै शिक्षार्थीलाई लगनशीलता र अनुशासनका साथ अध्ययन गर्न आग्रह गर्दै एसईईसँगै कक्षा १२ को नतिजामा पनि ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा वडा अध्यक्ष भूवनसिं घलानले कक्षा ११ मा अध्ययनरत सबै विद्यार्थीले मेहनतका साथ राम्रो नतिजा निकालेर विद्यालयको पहिचान उजिल्याउनुपर्नेमा जोड दिए। गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी सकारात्मक परिणामले प्रमाणित हुने विश्वास व्यक्त गरे।
कक्षा १२ की विद्यार्थी आशिका पुडासैनीको अध्यक्षतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा विद्यालय समितिका अध्यक्ष मदन प्रसाद बर्तौला, शिक्षा शाखा प्रमुख समीर जोशी, प्रअ रामप्रसाद कालाखेती, पूर्व प्रअ राजाराम पराजुली, सहायक प्रअ रामचन्द्र पौड्याल लगायतको उपस्थिति थियो।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका थिए। कक्षा १२ की सुस्मिता थिङ र कक्षा ११ की अस्मिता ब्लोनले आफ्नो मन्तव्य राखेका थिए।
कालिका माविमा शिक्षा शास्त्र तथा व्यवस्थापन शास्त्र विषय अध्यापन हुँदै आएको छ।







