नेकपा एमाले मकवानपुरले आगामी ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गरेको छ।
जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ मा मतदानमार्फत र क्षेत्र नं. २ मा सर्वसहमतिको आधारमा प्रतिनिधि छनोट गरिएको निर्वाचन कमिटीले जनाएको छ। दलित क्षेत्रतर्फ पनि मतदानमार्फतै प्रतिनिधि चयन गरिएको हो।
क्षेत्र नं. १ : मतदानमार्फत प्रतिनिधि चयन क्षेत्र नं. १ बाट खुला तर्फ प्रतिस्पर्धा गरेका ३० मध्ये १७ उम्मेदवार कायम भई मतदान भएको थियो। महिला तर्फ ९ मध्ये ७ र युवा तर्फ १० मध्ये ५ उम्मेदवारलाई प्रतिस्पर्धामा राखेर निर्वाचन गरिएको थियो।
निर्वाचित प्रतिनिधिहरु खुला तर्फ नविन सिग्देल (७७६), सुनिल मोक्तान (६८८), फुर्बा दोर्जे लामा (५८०), अणराज जर्गा मगर (४२०) महिला तर्फ, आरती पाठक (९७६), सीता विष्ट (८०४), विना कुमारी थिङ (५९१) त्यस्तै युवा तर्फ बोलबहादुर कार्की (४६०) र दलित तर्फबाट देवकृष्ण विकल (४९) मतसहित निर्वाचित भएका छन्।
क्षेत्र नं. २ : सर्वसहमतिमा ८ प्रतिनिधि चयन
मकवानपुर क्षेत्र नं. २ मा खुला, महिला र युवा तीनै समूहमा सर्वसहमतिमै प्रतिनिधि चयन भएको छ।
खुला तर्फ बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई
महिला तर्फ: सुमित्रा काफ्ले, भगवती पुडासैनी, गिता प्रजा युवा तर्फ रोहन लामा (सिंगराम लामा) निर्विरोध भएका छन्।
क्षेत्र नं. २ मा खुला १६, महिला १० र युवा ६ जनाले उम्मेदवारी दर्ता गराए पनि सबैमा सहमति बनेपछि मतदानको आवश्यकता परेन।
देशभर प्रतिनिधि छनोट सकियो
एमालेले ११औं महाधिवेशनका लागि देशभर प्रतिनिधि चयन कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। धेरै जिल्लामा सर्वसहमति भए पनि अधिकांश स्थानमा प्रतिस्पर्धामार्फत प्रतिनिधि चयन गरिएको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
संघीय निर्वाचन क्षेत्रहरूबाट खुला, महिला, दलित, युवा गरी करिब २ हजार प्रतिनिधि, प्रवास तथा जनसंगठनबाट १ सय प्रतिनिधि गरी करिब २२ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
एमालेको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २७ मा भक्तपुरको सल्लाघारीमा उद्घाटन तथा मंसिर २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रसहित सम्पन्न हुने कार्यक्रम छ।




