हेटौँडा/ हेटौँडा उपमहानगरपालिका–२ स्थित बालजागृति इङ्लिस सेकेन्डरी स्कुलको आयोजनामा ११औँ राष्ट्रिय स्क्राबल प्रतियोगिता शुक्रबार (आज)देखि सुरु हुँदैछ। प्रतियोगिता बालजागृति बोर्डिङ स्कुलमै दुई दिनसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताबारे जानकारी दिन विद्यालय प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले बताए। उनका अनुसार दुईदिने प्रतियोगितामा देशका विभिन्न २५ भन्दा बढी जिल्लाबाट करिब १ सय विद्यार्थी सहभागी हुनेछन्। करिब १३ लाख रुपैयाँ लागतमा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धीहरूबीच ६ राउन्डका खेलहरू सञ्चालन गरिनेछ।
प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। पुरस्कारमा प्रथम १५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र, द्वितीय १३ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र तृतीय ११ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र त्यसैगरी चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गर्नेले क्रमश ९ हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। आठौँ, नवौँ र दशौँ स्थानमा पर्नेलाई जनही ३ हजार रुपैयाँ दिइनेछ। साथै ११औँदेखि २५औँ स्थान सम्मका सहभागीले जनही २ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
शुक्रबार र शनिबार हुने प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर, गोरखा, स्याङ्जा, रुपन्देही, गुल्मी, सुर्खेत, सुनसरी, बारा, अर्घाखाँची, कैलालीलगायतका जिल्लाका विद्यार्थीको सहभागिता रहने विद्यालयले जनाएको छ।
विद्यालयका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्क्राबल खेलसँग सम्बन्धित विज्ञहरूको आतिथ्यता रहेको थियो।








