हेटौंडा/सर्वोत्तम सचिती बचत तथा ऋण सहकारी संस्था लि।ले मंसिर २६ र २७ गते १९औँ वार्षिक साधारण सभा तथा भव्य प्रदर्शनी मेला सञ्चालन गर्ने भएको छ। सहकारीले आज (मङ्गलबार) पत्रकार सम्मेलनमार्फत सहकारीले सबै तयारी पूरा भएको जनाएको छ।
सहकारीले सदस्यबाट प्राप्त कच्चापदार्थ प्रयोग गरी ५० भन्दा धेरै दैनिक उपभोग्य वस्तु र पशु आहार उत्पादन गर्दै आएको छ। करिब ३ हजार शेयर सदस्य रहेको सहकारीले यसपटक ५० वटा स्टल रहने मेला आयोजना गर्दैछ। 
मेला हेटौंडाको शुभ पार्टी प्यालेसमा हुने छ भने प्रवेश निःशुल्क हुनेछ। सहकारीका अध्यक्ष राम बहादुर बस्नेतका अनुसार मेलामा करिब २० हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरेका छन् ।
उक्त साधारण सभा तथा मेलाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले गर्ने अध्यक्ष बस्नेतले बताए।
अध्यक्ष बस्नेतका अनुसार सहकारीले सदस्यलाई व्यवसायमुखी बनाउने, उपभोग्य वस्तुमा आत्मनिर्भरता बढाउने, मिसावटयुक्त खाद्य पदार्थबारे जागरूकता फैलाउने र सदस्यको बचतलाई उत्पादन क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्ने कार्यलाई अझै सशक्त गर्ने लक्ष्य रहेको छ। 
दुई दिनसम्म चल्ने उक्त मेलामा सहकारीका उत्पादन, पशु आहार, स्थानीय कच्चापदार्थबाट बनेका सामग्री तथा सदस्यका विभिन्न उत्पादनहरू प्रदर्शनीमा राखिने अध्यक्ष बस्नेतले बताए।







