मकवानपुरको मनहरी गाउँपालिकामा जिल्लामै पहिलोपटक धानबाली बिमा गराएका किसानले क्षतिपूर्ति प्राप्त गरेका छन्। गाउँपालिकाले शिखर इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी गत असारमा धानबाली बिमा सुरु गरेको थियो।

बुधबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले १९ किसानलाई कुल १ लाख ३३ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति हस्तान्तरण गरे। बिमा सुरु गरिएको पहिलो वर्ष ५२ किसानले धानबालीको बिमा गरेका थिए, जसअन्तर्गत गत असोजको वर्षा, डुबान र फड्के किराको प्रकोपबाट क्षति ब्यहोरेका किसानले दाबी गरेका थिए। बिमा कम्पनीले एक किसानलाई अधिकतम ३५ हजार रुपैयाँसम्म भुक्तानी दिएको छ।
अध्यक्ष कालाखेतिका अनुसार किरा, रोग, डुबान, वन्यजन्तुजन्य क्षतिका कारण अन्नबालीमा लगातार समस्या देखिएकाले किसानको जोखिम कम गर्न गाउँपालिकाले बाली बिमा कार्यक्रम सुरु गरेको हो। बिमा गर्दा कुल बिमाङ्कको ८० प्रतिशत संघीय सरकारले अनुदान स्वरूप व्यहोर्नेछ भने २० प्रतिशत किसानले तिर्नुपर्नेछ। तर, आर्थिक रूपमा विपन्न किसानका लागि गाउँपालिकाले उक्त २० प्रतिशत रकमसमेत भुक्तान गर्ने बजेट व्यवस्थापन गरेको जनाइएको छ।
सार्वजनिक आह्वानपछि ३, ६, ७ र ९ नम्बर वडाका किसानले मात्र बिमा कार्यक्रममा सहभागिता जनाएका थिए। आगामी वर्षदेखि अधिक किसानलाई समेट्ने गरी कार्यक्रम विस्तार गरिने अध्यक्ष कालाखेतिले बताए।
गाउँपालिकाले धानबालीसँगै अब मकै तथा तरकारी बालीको पनि बिमा सुरु गर्ने तयारी गरेको छ। बिमा मूल्यांकन तथा व्यवस्थापनका लागि शिखर इन्स्योरेन्सले मनहरीमा छुट्टै कृषि प्राविधिक खटाउने तयारी गरेको शाखा प्रमुख प्रमोद पोखरेलले जानकारी दिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठलगायतको उपस्थिति थियो।







