काठमाडौंमा जारी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा एमाले मकवानपुरका ६ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। केपी शर्मा ओली समूहबाट ४ जना र ईश्वर पोखरेल समूहबाट २ जना गरी ६ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
केन्द्रीय सचिव बन्ने चर्चामा रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलासहित रामेश्वर राना, भारती पाठक, एकालाल श्रेष्ठ, कृष्ण दाहाल र विश्व विकलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। बर्तौला, राना, पाठक र श्रेष्ठले केपी शर्मा ओली समूहबाट उम्मेदवारी दिँदा दाहाल र विकलले ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारमध्ये महेश बर्तौला, रामेश्वर राना, भारती पाठक र कृष्ण दाहाल यसअघि नै केन्द्रीय सदस्य भइसकेका छन् भने एकालाल श्रेष्ठ र विश्व विकल पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। विकलले दलित कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
जारी महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्यानलगत प्रतिस्पर्धा हुने भएको छ। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि पनि उम्मेदवारी दर्ता सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
सोमबार दिउँसो ३ बजेपछि तोकिएको समयभित्र उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै आयोगले कार्यालयको ढोका बन्द गरेको छ। एमालेको ११औँ महाधिवेशनमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ। मकवानपुरबाट छनोट भएका अधिकांश महाधिवेशन प्रतिनिधि केपी शर्मा ओली समूहका रहेका छन्।



