बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उद्यम गर्नुअघि पर्याप्त ज्ञान र सीप लिनु अनिवार्य रहेको बताउनुभएको छ। ज्ञान र सीपसहित सुरु गरिएका उद्यम मात्र दिगो रूपमा अगाडि बढ्न सक्ने उहाँको भनाइ छ।
बुधबार हेटौंडा स्कुल अफ म्यानेजमेन्टले आयोजना गर्न लागेको उद्यमी पाठशाला सहजीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उद्यमीका लागि बजारको माग, समयसापेक्ष प्रविधि र बजारीकरण प्रक्रियाबारे जानकारी आवश्यक रहेको उल्लेख गर्नुभयो। यस्ता विषयमा सहजीकरण गर्दै हेटौंडा स्कुल अफ म्यानेजमेन्टले उदाहरणीय काम गरेको भन्दै आगामी दिनमा अन्य संस्थाहरूले पनि यस्तै पहल गर्नुपर्ने उहाँले जोड दिनुभयो।

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले उद्योग नीति निर्माणका क्रममा सबै सरोकारवालाको सुझाव आवश्यक रहेको स्पष्ट पार्नुभयो। शिक्षाप्रदायक संस्थाले उद्यमी तथा व्यवसायी बन्न आवश्यक सीप सिकाउने र केही बिउपूँजीसमेत उपलब्ध गराएमा उद्यमशीलता विकासमा कोशेढुंगा साबित हुने उहाँको भनाइ थियो।
कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशीले सन २०१९ मा विद्यार्थीमा उद्यमशीलता र नवप्रवर्तन विकास गर्ने उद्देश्यसहित व्यापार निष्कर्षण केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्यमी पाठशालामार्फत नवप्रवर्तन उद्यमी बन्न चाहने विद्यार्थीलाई बिउपूँजीसहित व्यवसायमा सहभागी गराइँदै आएको छ।
महाविद्यालयले ६ वर्षको अवधिमा ७० भन्दा बढी विद्यार्थी स्नातक गराइसकेको, २५ भन्दा बढी कार्यक्रम सञ्चालन भएको र ५ वटा व्यवसाय दर्ता भई सञ्चालनमा रहेको जनाएको छ। ती उद्यम कार्यक्रमका लागि विद्यार्थीलाई बिउपूँजीका रूपमा २६ लाख रुपैयाँ प्रदान गरिएको र यसबाट साढे ३१ लाख रुपैयाँभन्दा बढीको वृद्धि भएको बताइएको छ। मसला, डिजिटल विज्ञापनलगायत चारवटा विभिन्न उद्यम सञ्चालनका लागि बिउपूँजी उपलब्ध गराइएको जनाइएको छ।

उद्यमी पाठशालामा सहभागी व्यवसायीसँग सम्पर्क, समन्वय तथा बजार अनुसन्धानसमेत गरिने गरिएको महाविद्यालयले जनाएको छ। यस वर्ष असोजदेखि दर्ता प्रक्रिया सुरु भई पुसको दोस्रो सातादेखि तालिम प्रारम्भ भइसकेको र वैशाखभित्र कार्यक्रम सम्पन्न गरिने जानकारी दिइएको छ। 
कार्यक्रममा बागमती प्रदेशमा उद्यम क्षेत्रको अवस्था, अवसर र चुनौती विषयमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख महेशराज पौडेल, इसिआर टेक प्रालिका व्यवस्थापन निर्देशक लेखराज पौडेल र आर्ट्स स्पेसकी संस्थापक प्रमिला शाहबीच प्यानल छलफल भएको थियो। प्यानलिस्टहरूले उद्यमप्रति प्रदेश सरकारको चासो बढे पनि पर्याप्त नीति, कानुन तथा प्रशासकीय झन्झट घटाउन आवश्यक रहेको औंल्याए।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी, व्यवसायी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।








