पश्चिम मकवानपुरको विकट तथा दुर्गम राक्सिराङ गाउँपालिकाले पालिकाबाट सेवा–सुविधा लिन पूर्ण सरसफाइ अनिवार्य गर्ने नीति लागू गरेको छ। गाउँपालिकाले हालै शौचालय परिचयपत्र (कार्ड) जारी गर्दै पूर्ण सरसफाइ परिवार नभए पालिकाका सेवाबाट वञ्चित हुनुपर्ने व्यवस्था गरेको हो।

पालिकाले राक्सिराङ गाउँपालिका–३ मा दोस्रोपटक शौचालय कार्ड वितरण गर्दै अब यो नीति पालिकाभर लागू गरिने जनाएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार पालिकाका ८६ वटा टोलमा शौचालय कार्ड वितरण गरिँदैछ। “यसपछि शौचालय कार्ड नहुने परिवारलाई पालिकाको सेवा रोकिने नीति लिएका छौं,” उनले भने, “पालिका पूर्ण सरसफाइयुक्त बनाउने लक्ष्यका लागि यो कदम चालिएको हो।”
राक्सिराङ–३ का लाउती, औले र कोलाङ्ती बस्तीलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्दै शौचालय कार्ड लागू गरिएको हो। सो अवसरमा वडाको एक विद्यालयसहित १३९ घरधुरीमा ‘एक घर–एक धारा–एक मिटर–एक फिल्टर–एक करेसाबारी’ अभियान सफल भएको घोषणा गरियो। बस्तीलाई पूर्ण सरसफाइ टोल घोषणा गरेसँगै शौचालय कार्ड अनिवार्य बनाइएको छ। 
आरआरएन संस्थाको सहजीकरणमा स्थानीयका घरघरमा शौचालय निर्माण, खानेपानी मिटर, फिल्टर तथा करेसाबारी व्यवस्थापन गरिएको छ। वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबाले खुला दिशामुक्त घोषणा भएको १२ वर्ष बितिसक्दा पनि अझै शौचालय निर्माणका लागि आग्रह गर्नुपरेको बताए। “अब शौचालय कार्ड लागू गरिएको छ,” उनले भने, “यो नहुँदा सुरक्षा भत्ताजस्ता सेवासमेत रोकिन सक्छन्, त्यसका लागि वडाले सिफारिस नगर्न सक्छ।”
सरसफाइ अभियानका लागि भवन निर्माण गर्न स्थानीय दलबहादुर स्याङ्तानले १० धुर जग्गा उपलब्ध गराएका थिए। उनको निधनपछि उनकी पत्नी राममाया स्याङ्तानलाई गाउँपालिका अध्यक्ष मल्लले दोसल्ला ओढाएर सम्मान गरे।
अभियान सफल बनाउन स्थानीयवासी सक्रिय रूपमा जुटेको र आर्थिक तथा प्राविधिक रूपमा आरआरएनले सहजीकरण गरेको बस्ती पूर्ण सरसफाइ उन्मुख अभियान समितिका अध्यक्ष बाबुलाल स्याङ्तानले बताए।







