बागमती प्रदेश सरकारको लगानीमा थाहा नगरपालिका–९ चित्लाङको चन्द्रागिरि भन्ज्याङमा निर्माण गरिएको चित्लाङ भ्युटावर आज बुधबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भ्युटावरको उद्घाटन गर्नुभएको हो। 
गत मंसिर २४ गते पर्यटन विकास आयोजना हेटौंडा र थाहा नगरपालिकाबीच भ्युटावर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्झौता भएको थियो। सम्झौताअनुसार भ्युटावर थाहा नगरपालिकाले आफैं वा अन्य सेवाप्रदायकमार्फत सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।
बागमती प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ (२०७६–२०७८) अन्तर्गत भ्युटावर निर्माणको काम अघि बढाएको हो। हिलस्टेसन क्षेत्रमा भ्युटावरसँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ। परियोजनाको लागत दुई चरणमा मूल्य समायोजनसहित कुल पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ पुगेको छ। 
संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा निर्माण सम्पन्न भएको भ्युटावर बुधबार आयोजित कार्यक्रममा औपचारिक रूपमा थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ। पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तवले नगरप्रमुख विष्णु विष्टलाई भ्युटावरको संरचना हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, नगर उपप्रमुख, वडाध्यक्षहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 
यसैबीच, प्रदेश सरकारले २०७६ सालदेखि हालसम्म १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरिसकेको जनाएको छ। ती भ्युटावर निर्माणमा प्रदेश सरकारले कुल ३२ करोड ८४ लाख तीन हजार तीन सय ३९ रुपैयाँ खर्च गरेको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभएको छ। 



