मकवानपुर होटल एसोसिएसनको आयोजनामा हेटौंडामा १२ औं सडक खाना महोत्सव आइतबार(आज)देखि सुरु हुने भएको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राको चौरको सडक क्षेत्रमा आयोजना हुने महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ। आज संस्कृति तथा पर्यटन मन्त्रालयका मन्त्री श्रेष्ठले उक्त महोत्सवको उद्घाटन गर्नुहुनेछ ।
‘सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित होटल एसोसिएसन मकवानपुरले विगत ११ वर्षदेखि निरन्तर सडक खाना महोत्सव आयोजना गर्दै आएको छ। महोत्सव हरेक दिन दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म खुला रहने आयोजकले जनाएको छ।
महोत्सवमा सांस्कृतिकदेखि आधुनिकसम्मका विभिन्न परिकारको स्वाद लिन सकिनेछ भने मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहनेछ। महोत्सवमा करिब ६० वटा स्टल रहनेछन्। एक स्टल राख्नका लागि चार दिनको १० हजार रुपैयाँ शुल्क तोकिएको छ।
आयोजकका अनुसार खाद्य सामग्रीको शुद्धतामा विशेष ध्यान दिइनेछ र व्यवसायीलाई दैनिक फोहोर व्यवस्थापन अनिवार्य गराइनेछ। साथै, प्रत्येक स्टलमा खानाको मेनु अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
महोत्सव व्यवस्थापनमा करिब १५ लाख ७२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्टलमार्फत ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने तथा ३० देखि ४० हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।
महोत्सव अवधिभर आपतकालीन सेवाका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबाट एम्बुलेन्स, हेटौंडा उपमहानगरपालिकाबाट दमकलको व्यवस्था गरिएको छ। यसैगरी, मकवानपुर सहकारी अस्पतालका स्वास्थ्यकर्मीको टोलीले आकस्मिक उपचार सेवा प्रदान गर्नेछ।



