हेटौंडा/ एआई प्रविधिमा आधारित बहुभाषिक सूचना प्लेटफर्म ‘दागाची एप’ मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।
मनसाचोकस्थित डाँफे प्यालेस होटलमा आज आयोजित पत्रकार सम्मेलनमा एपका नेपाल प्रतिनिधि माधव सापकोटाले दागाची एपको उद्देश्य, कार्यप्रणाली तथा भविष्यका योजनाबारे विस्तृत जानकारी गराए।
उनका अनुसार दागाची एपको मुख्य उद्देश्य कोरियामा कार्यरत तथा भविष्यमा कोरिया जान तयारीमा रहेका विदेशी नागरिकलाई भाषागत अवरोध बिना सही, विश्वसनीय र समयसापेक्ष सूचना उपलब्ध गराउनु हो। हाल कोरियामा रहेका विदेशी कामदार, विद्यार्थी र पर्यटकहरूले सरकारी सूचना, रोजगारी, आवास, इन्टर्नसिप, कानुनी प्रक्रिया तथा आपतकालीन अवस्थासम्बन्धी जानकारी पाउन कठिनाइ भोग्दै आएको भन्दै ती समस्याको समाधानका लागि एप विकास गरिएको बताए।
दागाची एपमार्फत हाल १६ भन्दा बढी भाषामा सूचना सेवा उपलब्ध रहेको छ। एपमा श्रम, भिसा, स्वास्थ्य र कानुनसम्बन्धी जानकारी, रोजगारी तथा घर/कोठा खोज्ने सेवा, विश्वविद्यालय भर्ना प्रक्रिया, आपतकालीन सहायता र सुरक्षासम्बन्धी सूचना समेटिएको छ। एप एआईमा आधारित सरल र सुरक्षित प्रणालीमा सञ्चालन गरिएको सापकोटाले जानकारी दिए।
उनले दागाची एपलाई केवल सूचना दिने माध्यममा सीमित नराखी विदेशी नागरिकका लागि विश्वसनीय डिजिटल सहायकका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको स्पष्ट पारे। साथै, नेपालमा रहेका विदेशी नागरिकले नेपाली समाज, सेवा, स्वास्थ्य, कानुन, अवसर र आर्थिक गतिविधिसम्बन्धी जानकारी आफ्नै मातृभाषामा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बताए।
यस एपमार्फत नेपाली उद्यमीहरूले आफ्ना सेवा तथा व्यवसाय अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ। हालै सम्झौता भएका संस्थालाई दागाची एपमा प्रमाणित चिन्ह प्रदान गरिने तथा सदस्यता सेवा पनि सञ्चालनमा ल्याइएको जानकारी दिइयो। सञ्चारकर्मीका लागि कोरिया तथा अन्य मुलुकका प्रमुख समाचार नेपाली भाषामा उपलब्ध गराइने व्यवस्था समेत गरिएको आयोजकले बताएका छन्।
आगामी दिनमा एपमा थप नयाँ सुविधा समावेश गरिने र समय–समयमा जानकारी सार्वजनिक गरिने जनाइएको छ।
कार्यक्रमको अन्त्यमा नेपाल प्रतिनिधि सापकोटाले सञ्चारकर्मीलाई धन्यवाद दिँदै पत्रकारका प्रश्नको उत्तर दिएका थिए। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, उपाध्यक्ष ध्रुव अधिकारी, भावना रिजाललगायत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।



