राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ। देशभर १८ पदका लागि निर्वाचन हुनेमा बागमती प्रदेशबाट दुई सिट रिक्त हुँदैछन्। महिला कोटातर्फ एमालेकी इन्दिरा देवी गौतम र तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासेको कार्यकाल आगामी फागुनमा सकिँदैछ।
निर्वाचन आयोगको तालिकाअनुसार पुस २३ गते उम्मेदवारी दर्ता हुनेछ भने बागमतीका लागि हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्र तोकिएको छ। प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहने यस निर्वाचनमा अंकगणितीय हिसाबले नेपाली कांग्रेस बलियो देखिएको छ।
बागमती प्रदेशमा कुल मतभार १०,३५२ रहेकामा कांग्रेसको ४ हजारभन्दा बढी मतभार छ। बागमती प्रदेश सभामा कांग्रेसका ३७ सिट छन् भने स्थानीय तहमा प्रमुख तथा उपप्रमुख गरी १०८ सिट छन्। यस्तै, एमालेको प्रदेश सभामा २७ सिट र स्थानीय तहमा ६० सिट, तत्कालीन माओवादी केन्द्रको प्रदेश सभामा २१ र स्थानीय तहमा ५७ सिट, राप्रपाको प्रदेश सभामा १३ र स्थानीय तहमा १ सिट, नेकपा एकीकृत समाजवादीको प्रदेश सभामा ७ र स्थानीय तहमा ९ सिट, नेमकिपाको प्रदेश सभामा ३ र स्थानीय तहमा २ सिट, तथा हाम्रो नेपाली पार्टीको प्रदेश सभामा २ सिट र स्थानीय तहमा १ सिट रहेका छन्।
यसरी बागमती प्रदेशबाट प्रदेश सभातर्फ ११० जना र स्थानीय तहबाट २३८ जना प्रमुख/उपप्रमुख मतदाताका रूपमा सहभागी हुनेछन्। बागमती प्रदेशमा कुल मतभार १० हजार ३५२ रहेको छ, जसमा कांग्रेसको मात्रै ४ हजारभन्दा बढी मतभार छ।
कांग्रेसपछि दोस्रो शक्तिका रूपमा वर्तमान नेकपा (माओवादी केन्द्र र एकीकृत समाजवादी) देखिएको छ। प्रदेश सभामा नेकपाका २८ सिट र स्थानीय तहमा ६६ सिट हुँदा कुल मतभार २ हजार ७३८ पुग्छ। यस्तै, एमालेको मतभार २ हजार ५७१, राप्रपाको ७०८, नेमकिपाको १९७ र हाम्रो नेपाली पार्टीको १०६ रहेको छ।
यो अंकगणित हेर्दा एमाले र तत्कालीन माओवादी केन्द्रका लागि बागमतीमा राष्ट्रिय सभाको साख जोगाउन चुनौतीपूर्ण अवस्था देखिन्छ।गठबन्धन नभएमा वा दलहरू एकल रूपमा निर्वाचनमा गएमा बागमतीबाट रिक्त हुने दुवै सिटमा नेपाली कांग्रेसको दुवै सिट कांग्रेसको पल्लाभारी हुने सम्भावना बलियो देखिन्छ।







