बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको जनसंख्या नीति छिट्टै सार्वजनिक गरिने बताउनुभएको छ। संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा सोमबार हेटौंडामा सम्पन्न राष्ट्रिय जनसंख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेशस्तरीय जनसंख्या नीतिको मस्यौदा कानुन मन्त्रालयमा पुगिसकेको जानकारी दिनुभयो। संघीय सरकारको नीतिसँग नबाझिने गरी प्रदेशको नीति ल्याइने उहाँको भनाइ छ।
मन्त्री थापाले विकासमा देखिएको असन्तुलनका कारण बसाइँसराइको दर तीव्र गतिमा बढ्दै गएको उल्लेख गर्नुभयो। शिक्षा, स्वास्थ्य र रोजगारजस्ता क्षेत्रमा असन्तुलित विकास हुँदा प्रदेशका केही जिल्लाहरू रित्तिँदै गएका छन् भने कतिपय जिल्लामा जनघनत्व अत्यधिक बढ्दै गएको उहाँले बताउनुभयो। बसाइँसराइको तीव्र वृद्धिदर नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
संघीयता कार्यान्वयन भएको आठ वर्षको अवधिमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिए पनि युवाको पलायन रोक्न नसकिएको मन्त्री थापाको भनाइ छ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले जनसंख्या सन्तुलन नमिल्दा सामाजिक संरचनामै असर पर्ने बताउनुभयो। नेपालको वर्तमान जनसंख्या अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै उहाँले प्रजनन दर प्रतिस्थापन तहभन्दा तल झर्नु चिन्ताको विषय भएको बताउनुभयो। नगर प्रमुख लामाले जनसंख्या विषयमा गम्भीर बहस आवश्यक रहेको भन्दै तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने नीति ल्याउँदा धेरैले हाँसोको विषय बनाएको अनुभव सुनाउनुभयो। उहाँले कार्यविधि बनाएर उक्त नीतिलाई कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो।

प्रदेश स्वास्थ्य मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा जनसंख्या व्यवस्थापन महाशाखाका उपसचिव झविन्द्र प्रसाद पाण्डेयले नेपालको जनसंख्या अवस्थाबारे प्रस्तुति दिनुभएको थियो भने मन्त्रालयका सहसचिव हेमराज सुवेदीले राष्ट्रिय जनसंख्या नीति २०८२ को कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
राष्ट्रिय जनसंख्या नीति २०७८ अनुसार बागमती प्रदेशमा बसाइँ सरी आउने जनसंख्या ५३ दशमलब ७ प्रतिशत र बसाइँ सरी जाने १० दशमलब ७ प्रतिशत रहेको छ। देशभर मातृ मृत्यु अनुपात प्रति एक लाख जीवित जन्ममा १५१ रहेकामा बागमती प्रदेशमा ९८ रहेको तथ्यांक प्रस्तुत गरिएको छ। साथै, हिमाली क्षेत्रसहित ३४ जिल्ला र ३१९ स्थानीय तहमा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ। जन्मका क्रममा लैंगिक अनुपात प्रत्येक सय बालिकाको जन्ममा ११४ बालक जन्मिने अवस्था रहेको पनि कार्यक्रममा जानकारी गराइएको छ।







