हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती मनाउने तयारी सुरु गरेको छ।
आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ती समारोह मनाइने तथा त्यसका लागि सहयोग संकलन अभियानसमेत सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
स्वर्ण जयन्ती सहयोग अभियान अन्तर्गत विद्यालयका पूर्वविद्यार्थी विनोद सुवेदीले आर्थिक सहयोग प्रदान गर्नुभएको छ। हाल बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका प्रिन्सिपलसमेत रहनुभएका सुवेदीले स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक एवं हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनलाई ५० हजार ५५० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। उक्त अवसरमा वडा सदस्य ईन्द्रप्रसाद रिजालको पनि उपस्थिति रहेको थियो।
त्यस्तै, विद्यालयका अभिभावक निरञ्जन विष्टले स्वर्ण जयन्ती सहयोगार्थ ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।
स्वर्ण जयन्ती समारोहलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको विद्यालयले जनाएको छ।







