रौतहट — रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डअन्तर्गत दोस्रो लच्का नजिक ग्यास बोकेको बुलेट ट्याङ्कर दुर्घटना भएपछि अवरुद्ध बनेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग २५ घण्टापछि पुनः सञ्चालनमा आएको छ।
मंगलबार बिहान करिब पौने ८ बजे अनियन्त्रित भई पल्टिएको ग्यास बुलेट ट्याङ्कर बुधबार बिहान पौने ९ बजे सडकबाट हटाइएपछि राजमार्ग खुलेको हो। ट्याङ्कर पल्टिएसँगै ग्यास चुहावटको जोखिमका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरका अनुसार सुरक्षा निकाय, ट्राफिक प्रहरी तथा स्थानीय तहको संयुक्त प्रयासपछि छवटा किरण क्रेनको प्रयोग गरी २१ टन क्षमताको ग्यास बुलेट ट्याङ्कर सडकबाट हटाउन सफल भइएको हो।
भारतको रक्सौलबाट महेन्द्रनगर, धनुषातर्फ जाँदै गरेको यूपी–१७ एपी–२११४ नम्बरको ग्यास बुलेट ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको थियो। दुर्घटनामा ग्यास बुलेट चालक भारतको मधुवनी जिल्ला जयनगर निवासी ३७ वर्षीय पवन यादव घाइते भएका थिए।
घाइते चालकको अवस्था सामान्य रहेको र चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको छ।







