नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्। नाडाको चुनावी तालिकाअनुसार तोकिएको समयभित्र अध्यक्ष पदमा उप्रेतीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
स्पेयर पार्ट्स व्यवसायीसमेत रहेका उप्रेती यसअघि नाडाको महासचिवका रूपमा कार्यरत थिए। उनी सिएट टायरको आधिकारिक वितरक एसटीसी ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन्।
नाडाको केन्द्रीय कार्यसमितिका सदस्यहरूको निर्वाचन पुस २५ गते तय गरिएको थियो। प्रदेश सदस्यतर्फ सात जनाको उम्मेदवारी परेको थियो भने साधारण सदस्यतर्फ १७ जनाले उम्मेदवारी दर्ता गराएका थिए। दर्ता भएका उम्मेदवारीहरू निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणमा जाँच–छानबिन गरी टुंगो लगाइएपछि नाडाको कार्यकारिणी समिति सर्वसम्मत रूपमा निर्वाचित भएको जनाइएको छ।



