बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजको आवश्यकता प्राविधिक, प्रविधिमैत्री र रोजगारमूलक शिक्षा भएको बताएका छन्। शिक्षालाई प्रविधिसँग जोड्दै आयआर्जनमुखी बनाउनुपर्नेमा उनले जोड दिए।
मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन कार्यक्रममा सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले माध्यमिक विद्यालयहरूलाई क्रमशः प्राविधिक शिक्षालयको रूपमा विकास गर्दै लैजानुपर्ने धारणा राखे। “अबको शिक्षा प्रविधि र आयमूलक हुन जरुरी छ। बेरोजगार उत्पादन गर्ने शिक्षा अब आवश्यक छैन,” उनले भने, “भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा आवश्यक छ। पढ्दै कमाउँदै गर्न सक्ने शिक्षा दिन प्रदेश सरकारले विशेष ध्यान दिनेछ।”
मुख्यमन्त्री बानियाँले शिक्षालाई आधुनिकीकरण गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) सँग जोडेर सक्षम र प्रतिस्पर्धी नागरिक उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले मनहरी–२ नम्बर वडाको समग्र विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए। उनले मनहरी–२ नम्बर वडास्थित भिमानमा अत्यन्त विकट क्षेत्रमा बसोबास गरिरहेका २२ परिवारलाई सुरक्षित र सुविधायुक्त स्थानमा स्थानान्तरण गर्न प्रदेश र गाउँपालिकाले संयुक्त रूपमा अध्ययन गर्ने बताए। साथै, मनहरी–२ र ३ जोड्ने खोलामा बेलिब्रिज निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।
गणतान्त्रिक व्यवस्था गरिबलाई आत्मनिर्भर बनाउने प्रणाली भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले जनमुखी, आयमुखी, गरिबमुखी, विकासमुखी र गाउँमुखी काम गर्न आफू प्रतिबद्ध रहेको बताए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार थिङको अध्यक्षतामा सम्पन्न स्वर्ण महोत्सव उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा नम्बर ९ का अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, वडा नम्बर १ का अध्यक्ष शिवप्रसाद खनाल, गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, विद्यालय निरीक्षक विदुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमकै अवसरमा विद्यालयका संस्थापक अध्यक्ष बौद्धजीत गोङ्बालाई सम्मान गरिएको थियो। साथै, पहिलो चेपाङ गायक रविन चेपाङ र कलाकार इमान लामाले सांगीतिक प्रस्तुति दिएका थिए। तीन दिनसम्म सञ्चालन हुने स्वर्ण महोत्सवमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।







