हेटौंडा/पाँच वर्षमुनिका बालबालिकाको रोग प्रतिरोधी क्षमता वृद्धि गरी स्वस्थ बनाउने उद्देश्यका साथ बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेदिक अस्पताल हेटौंडाले तिष्य–पुष्य नक्षत्रको अवसरमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको छ।
हेटौंडा–२ स्थित आयुर्वेदिक अस्पतालमा आज बिहान ७ बजेदेखि सुरु गरिएको कार्यक्रममा बेलुकासम्म करिब ५ सय बालबालिकाले स्वर्ण बिन्दु सेवन गरेको अस्पतालका सूचना अधिकारी अशोक झाले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा बालबालिका र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको छ।
अस्पतालले तिष्य–पुष्य नक्षत्रका दिनमा स्वर्ण बिन्दु प्राशन नियमित रूपमा गराइने जनाएको छ। रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रम आर्थिक वर्ष २०८२/८३ अन्तर्गत कात्तिक २५ गतेदेखि शुभारम्भ गरिएको हो।
अस्पतालका अनुसार आगामी दिनहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै बढीभन्दा बढी बालबालिकालाई लाभान्वित गराउने योजना रहेको छ।



